यी हुन् मेस्सीले बनाइदिएका गोरखाका एक सहित नेपालका १४ स्वास्थ्य चौकी
किरण लोहनी
असार ५, गोरखा ।
गोरखा - आँबुखैरेनी-गोरखा सडकखण्डको मझुवाबाट ७ किलोमिटर कच्चीबाटो उक्लेपछि पुगिन्छ, देउरालीको हटिया गाऊँ ।
गाउँको लगभग बीच भागमा हालसालै बनेको सेतो रङको स्वास्थ्य चौकी भवन प्रस्टै देखिन्छ ।
गोरखा नगरपालिका १४ को देउराली स्वास्थ्य चौकीको ६ कोठे भवनको एउटा भित्तोमा भवन निर्माणको तिथिमिति सहित निर्माणका साझेदारहरुको नाम र लोगो छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय र युनिसेफको लोगोको बीचमा खासै नसुनिएको एउटा संस्थाको नाम र लोगो छ ।
‘धेरैले भित्ताको शिलालेख नै हेर्दैनन्, जसले हेर्छ, उनीहरु अचम्म मान्दै सोध्छन्, ओहो, मेस्सीले पो बनाइदिएको ?’ स्वास्थ्य चौकी इन्चार्ज हरिमानसिं बस्नेत भन्नुहुन्छ, ‘धेरैलाई युनिसेफले बनाइदिएको भन्ने थाहा छ, तर मेस्सीको पैसा भन्ने चाहिँ थाहा छैन ।’
अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सीको नाम नसुन्ने नेपाली फुटबलप्रेमी शायदै होलान् ।
झन् विश्वकप फुटबल चलिरहेको यो बेला उनको चर्चा चुलिनु स्वाभाविकै भैहाल्यो । फुटबलप्रेमीका लागि उनको नाम नौलो होइन ।
तर भूकम्पले क्षति पुर्याएका नेपालका ८ जिल्लाका १४ स्वास्थ्य चौकी भवन निर्माणमा उनै मेस्सीको कमाईको अंश खर्च भएको भन्ने चाहिँ धेरैलाई थाहा नहुन सक्छ ।
मेस्सीले नेपाललाई सिधै सहयोग रकम पठाएका भने होइनन् ।
उनले परोपकारी काम गर्नका लागि स्थापना गरेको द लियो मेस्सी फाउण्डशेनले युनिसेफ मार्फत स्वास्थ्य चौकी भवन निर्माण गरेको हो ।
युनिसेफले भूकम्प प्रभावित जिल्लाहरुमा बनाएका कूल ७४ स्वास्थ्य चौकीमध्ये १४ वटाको भवन बनाउन मेस्सी फाउण्डेशनको पैसा खर्च भएको छ ।
युनिसेफको नेपालमा रहेको कार्यालयका एक कर्मचारीले भने, ‘त्योे फाउण्डेशनले झण्डै ५ लाख अमेरिकी डलर पठाएको थियो ।’
मेस्सीले फुटबल खेलेर कमाएको पैसा परोपकारी काममा खर्च गर्नकै लागि भनेर आफ्नो नाममा फाउण्डेशन स्थापना गरेका यसअघि नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउँदै आएका थिए ।
भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि फाउण्डशेनले झण्डै ५ करोड नेपाली रुपैयाँ सहयोग गरेको हो ।
मेस्सीको नाममा स्थापित परोपकारी संस्थाले गोरखा, धादिङ र काभ्रेमा २-२, दोलखामा ४ तथा नुवाकोट, रामेछाप, ललितपुर र सोलुखुम्बुमा १-१ वटा स्वास्थ्य चौकी भवन बनाएका छन् ।
गोरखा – दर्बुङ र मझुवा देउराली स्वास्थ्य चौकी
धादिङ – सल्यान्टार र नलाङ स्वास्थ्य चौकी
काभ्रे – गैरि बिसौनी देउपुर र देवभूमी स्वास्थ्य चौकी
दोलखा – लादूक, सुनखानी, दोलखा र पावती
नुवाकोट – वागेश्वरी
रामेछाप – ओख्रेनी
सोलुखुम्बु – फाप्लु
ललितपुर – दलचोकी
यी सबै स्वास्थ्य चौकीको भवन निर्माण पूरा भैसकेको युनिसेफले जनाएको छ । एउटा स्वास्थ्य चौकी सरदर ६० लाख रुपैयामा निर्माण भएको हो ।
स्वास्थ्य चौकी भवन निर्माणसँगै मेस्सी फाउण्डेशनले स्वास्थ्य चौकीमा फर्निचर र केही उपकरण खरिदमा पनि सहयोग गरेको छ ।
निर्माण पूरा भएका स्वास्थ्य चौकीमध्ये केहीको उद्घाटनका लागि मेस्सीलाई नै बोलाउने प्रयास थियो ।
तर क्लब फुटबलमा व्यस्त रहेकाले उनी नेपाल आउन नसकेको युनिसेफका एक कर्मचारीले बताए ।
छोरा नभ्याउने भएपछि मेस्सीका बुबा जर्ज मेस्सीले नेपाल आउने चाहना राखेका युनिसेफका अधिकारीहरु बताउँछन् ।
तर विभिन्न कारणले गर्दा जर्ज पनि आउन पाएनन् । फाउण्डेशनका कामहरु जर्जले नै हेर्दै आएका युनिसेफका अधिकारीहरुले बताएका छन् ।
तर मेस्सीले नेपालमा स्वास्थ्य चौकी भवन निर्माणका विषयमा चासो राख्ने गरेको पाइन्छ । उनले २०१७ मार्च २२ मा फेसबुक पेजमा स्टाटस लेख्दै स्वास्थ्य चौकी भवन निर्माणबारे चर्चा गरेका छन् ।
Me alegra mucho ver que el proyecto de la Fundación Leo Messi y UNICEF en Nepal marcha perfecto. ¡Tres centros de salud ya están construidos y otros once en proceso!
I'm really happy to see that the Leo Messi Foundation and UNICEF project in Nepal is going so well. Three health centres have already been built and a further 11 are on the way!
- LIO
— with UNICEF and Fundación Leo Messi.
पुनः प्रकाशित
पालुङटार नगरपालिका र टोखा नगरपालिकाबिच भगिनी सम्बन्ध, चारकुने बगैंचामा साझा पार्क बनाइने
असार १५, गोरखा । गोरखाको पालुङटार नगरपालिका र काठमाडौँको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । आपसी मैत्री, सहकार्य तथा दिगो विकासका
जय मातृभूमी पार्टीद्वारा गोरखकाली मन्दिरमा स्वस्ति–शान्ति पूजा सम्पन्न
गोरखा, असार ११ – जय मातृभूमी पार्टीले गोरखामा स्वस्ति–शान्ति पूजा सम्पन्न गरेको छ। पूजामा पार्टीका पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक तथा
गोरखा नगरपालिकाको आगामी आर्थिक वर्षका लागि प्रस्तावित वजेट रु. १ अर्ब ३ करोड
असार १०, गोरखा । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गोरखा नगरपालिकाले १ अर्ब ३ करोड रुपैयाँको वजेट प्रस्ताव गरेको छ । १९ औं नगरसभा अन्तर्गत बुधवारको

प्रतिकृया दिनुहोस