एक वर्षभित्रमा ग्रामीण क्षेत्रका आवास पुनर्निर्माणको काम पुरा हुन्छ : ज्ञवाली
२०७२ साल वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर महाभूकम्प गएको साढे ३ वर्ष पुरा भइसकेको छ, तर पनि त्यसले क्षति पु¥याएका संरचनाको पुनर्निर्माण कार्यले गतिल लिन सकेको छैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा बलियो सरकार बनेपछि पुनर्निर्माणले गति लिने सर्वसाधारणको अपेक्षासमेत पुरा भएन । सरकारले पुनर्निर्माणको कामलाई अघि बढाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गर्यो । तर, पटकैपिच्छे फेरिने सरकारका कारण यसको प्रमुख नेतृत्व कार्यकारी अधिकृत पनि पटक–पटक फेरिए । सुरुमा यसको नेतृत्व सुशील ज्ञवालीले गरे, उनले केही समय काम गरेपछि फेरि सरकार परिवर्तन भयो, उनलाई हटाएर डा गोविन्द पोखरेलाई नियुक्त गरियो । पोखरेलले पनि केही समयपछि प्रतिनिधिसभामा कांग्रेसबाट प्युठानबाट उम्मेदवार बनेपछि उनको ठाउँमा युवराज भुषाललाई नियुक्त गरियो । उनले पुनर्निर्माणको कामलाई तिव्रता दिने प्रतिवद्धता जनाए पनि खासै काम हुन सकेन । सरकार फेरिएसँगै भुषालले पनि पुरा कार्यावधि काम गर्न पाएनन् । चुनावपछि ५ वर्षका लागि कम्युनिस्ट नेतृत्वको सरकार गठन भयो । नयाँ सरकार गठनसँगै भुषाललाई पनि हटाएर पुनः ज्ञवालीलाई नियुक्त गरियो । अहिले ज्ञवालीलाई काम गर्नका लागि सरकारले पनि पूर्ण सहयोग गरिरहेको छ । ज्ञवालीसँग राष्ट्रिय पुनर्निर्माणको काम कसरी अगाडि बढाइरहेको छ त ? यसै विषयमा केन्द्रित भएर समाचार दैनिक डटकमले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीसँग गरेको कुराकानी : तपाईं फेरि प्राधिकरणको नेतृत्वमा आउनुभयो, पुनर्निर्माणकोे कामलाई कसरी अगाडि बढाइरहनु भएको छ ? अहिले गाँठो परेका विषय, समस्या परेका कुरालाई फुकाएर काम अगाडि बढ्दै जाने कुरामा हाम्रो ध्यान केन्द्रित भएको छ । भूमिहिन, सुकम्वासीहरुले पैसा पाएको अवस्था थिएन । घर बनाउनका लागि लामो समयदेखि उहाँहरु जुन ठाउँमा बस्दै आउनुभएको छ, ऐलानीमा हामीले त्यसको समस्या समाधान गरेका छौँ । निर्देशक समितिको निर्णय अनुसार हामीले त्यसको गाँठो फुकाएका छौँ । जहाँ तिनीहरुलाई उपयुक्त हुन्छ, त्यहाँ बस्ने व्यवस्था मिलाउने, पुनर्निर्माणको अनुदान रकम र अन्य सेवासुविधा उपलब्ध गराउने निर्णय भएको छ । कतिपय अवस्थामा पहिला नै घर बनाइसकेका तर पैसा पाउन नसकेका भूकम्पपीडितका लागि उहाँहरुको घर सुरक्षित रहेको स्थानीय तहले प्रमाणीकरण गरेको आधारमा एकमुष्ठ रकम दिने निर्णय भएको र कार्यविधिमा त्यही अनुसारको परिमार्जन गर्ने प्रक्रिया अगाडि बढेको छ । लामो समयदेखि ३ लाखसम्म र्निब्याजी ३ लाखसम्मको सहुलियत ऋणप्राप्त गर्ने विषयलाई गाँठो फुकाउने काम र अहिले ३ लाखसम्म ऋण प्राप्त गर्ने व्यवस्था अगाडि बढाइएको छ । दीर्घकालीन हिसाबले अबको साढे २ वर्ष अवधिभित्रमा सम्पूर्ण पुनर्निर्माणको काम सम्पन्न गर्नका लागि कार्ययोजना र योजना तयार गर्नका लागि परेका छौं । त्यसका लागि ५ वर्षीय योजना बनाएर योजनबद्ध ढंगले काम अघि बढाएका छौँ । यति ढिलो भइसक्यो, पुनर्निर्माणको काम कहिलेसम्म पुरा होला त ? राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माणको काम संसदले दिएको अवधि ५ वर्ष हो । यसको अर्थ ५ वर्षको अवधि लिनुपर्छ भन्ने होइन्, यो बीचमा नेतृत्व परिवर्तन लगायतका विभिन्न कारणले समस्या देखिए । विगतमा फर्केरभन्दा पनि भावी योजना कसरी बनाएर जाने, बाँकी ३० महिनाको अवधिभित्र सम्पूर्ण काम कसरी सम्पन्न गर्ने, त्यसको निम्ति स्रोत साधन कति चाहिन्छ ? यो कुराको बारेमा व्यवस्थापन गर्ने र कार्यान्वयनमा जाने योजना बनाइयो भने काम गर्न सहज हुने छ । आउने एक वर्षभित्रमा विशेष गरेर ग्रामीण क्षेत्रका आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएर कामलाई अघि बढाइरहेका छौँ । सम्भवत यो आर्थिक वर्षमा निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । त्यसका साथै विद्यालय भवन, संस्थागत भवन, प्राकृतिक सम्पदाको काम ३० महिनाको अवधिमा सम्पन्न गर्ने गरी काम अगाडि बढाएका छौँ । सरकारले पुनर्निर्माणको कामलाई सहयोग नगरेको हो ? सरकारले पुनर्निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेको छ । त्यही अनुसारको सहयोग प्राप्त भएको र सोही अनुरुप हामीले कामहरु अघि बढाइरहेका छौँ । पटक–पटक पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत परिवर्तन हुँदा पुनर्निर्माणको काममा असर पर्ने रहेछ ? नेतृत्व परिवर्तन गर्दा केही फरक त पर्छ नै । किनभने नयाँ प्रमुख कार्यकारी अधिकृत आएर काम सम्हाल्दै गर्दा खेरी नयाँलाई जहिले पनि केही समय लाग्ने बुझ्नका लागि किनकी पुनर्निर्माणको काम यति जटिल र धेरै क्षेत्रलाई समेटिएको छ । स्वभाविक ढंगले यसलाई असर गरेको छ, नेतृत्व परिवर्तनको हिसावले । त्यसैले राजनीतिक अस्थिरताको प्रतिबिम्ब थियो, सबैले बुझेको खालको विषय थियो । सरकारले पुनर्निर्माणको कामलाई दु्रतगतिमा अगाडि बढाउनका लागि मलाई जिम्मेवारी दिएको छ । हामी दु्रतगतिमा कामअघि बढाउने कार्य सुरुवात गरिसकेका छौँ । अब बाँकी रहेको अवधिभित्र हामी पुनर्निर्माणको कामलाई सम्पन्न गरेर छाड्छौँ । तपाईंले यसो भनिरहँदा भूकम्प अति प्रभावित र प्रभावित जिल्लाको पुनर्निर्माणको अवस्था सोचे अनुसारको तिव्रगतिमा हुन सकेन भन्ने छ नि ? अतिप्रभावित जिल्लामा केही काम अगाडी बढेको र सकारात्मक परिणाम देखापरिरहेको अवस्था छ । कम प्रभावित १८ जिल्लामा जुन तहमा काम गर्नुपर्ने हो त्यो स्थितिमा काम अगाडि बढेको देखिएन । मैले १८ वटा जिल्लाका सबै गाउँपालिका, नगरपालिकामा पुनर्निर्माणको अवस्था के छ ? पुनर्निर्माण गर्नुपर्ने बाँकी कति भयो, त्यसको निम्ति समस्या के छ, समाधानको उपाय के छ? यसको खाका बनाउने काम पनि अहिले भैरहेको छ । हामी सबै गाउँपालिकाका प्रमुख, अध्यक्ष, उपाध्यक्षहरु, इन्जिनियरहरुलाई बोलाएर खाका बनाउने काम भैरहेको छ । हिजो र आजको अवस्था फरक भएकाले परिणाम देखिने खालको काम अगाडि बढिरहेको छ । जुन रफ्तारमा जानुपर्ने थियो विभिन्न कमिकमजोरीले ग्याप भएको देखिन्छ । हामी विगतको कुरामा नअल्मलिकन भावी योजना बनाएर काम अगाडि बढाउने ढंगले लागिरहेका छौँ । भूकम्पले सांस्कृतिक सम्पदाहरुको संरचना पनि ध्वस्त बनाएको छ । सम्पदाको पुनर्निर्माण कसरी अगाडि बढिरहेको छ ? आगामी दुई वर्षभित्र सम्पदाको काम पुरा गर्ने गरी कामअघि बढाएका छौँ । यसमा कतिपय पुनर्निर्माणको काम स्वयम्भुमा बनाउनुपर्ने अनन्तपुर, प्रतापुर लगायतका लिच्छवीकालीन सम्पदाहरु पुनर्निर्माणको काम पुरा भैसकेको छ । हनुमानढोकाको गद्धी बैठक, पाटनको कृष्ण मन्दिरको पुनर्निर्माणको काम पनि पुरा भएको छ । कतिपय सम्पदाको पुनर्निर्माणको कामले गति लिइरहेका छन् । भक्तपुरका धेरै सम्पदाको काम पुरा भएको छ । भर्खरै चाँगुनारायणको पनि पुनर्निर्माणको काम पुरा भएको छ । नुवाकोट दरबार, गोरखा दरबारको क्षेत्रमा पनि पुननिर्माणको काम पनि क्रमशः अगाडि बढिरहेको छ । कति पुरा भए र कति पुरा हुने चरणमा छन् ? पहिलो चरणमा ७ सय ५३ वटा समग्रतामा पुरा गर्नुपर्ने हो । त्यसमा १ सयभन्दा बढी संख्यामा पुनर्निर्माणको काम पुरा भएको छ । २ सयभन्दा बढी संख्यामा पुनर्निर्माणको काम भैरहेको छ । अरु पनि पुनर्निर्माणको कामले गति लिएको छ भने सांस्कृतिक सम्पदाको काम धेरै गतिमा अगाडि बढेको छ । काठमाडौं उपत्यकाभित्रै रहेका धरहरा, रानीपोखरी लगायत केही ठाउँका पुनर्निर्माणको कामले चाँहि किन गति लिन सकेन त ? सम्पदा पुनर्निर्माण गर्नुपर्ने जुन खालको शैली, हाम्रो परम्परागत मौलिकता, त्यसको प्रविधि, निर्माण सामग्री जुन प्रयोग गर्नुपर्ने हो त्यो प्रयोग नगर्दा विगतमा केही समस्या देखियो रानीपोखरीमा । म आउनेबित्तिकै त्यसलाई कसरी काम अघि बढाउने भन्ने पनि समस्या थियो । यसको पुनर्निर्माणका लागि धेरै छलफलपछि अहिले यसको कामका लागि टेन्डर आव्हान भैसकेको छ । यसलाई पुरानो शैलीमा बनाउने ढंगले त्यसको प्रक्रिया अगाडि बढेको छ । काष्ठमण्डप जति पनि सांस्कृतिक सम्पदा छन् यिनीहरुको काम अगाडि बढाउने काम भैरहेको छ । धरहराको पुनर्निर्माण कामले छिट्टै गति लिने छ । तपाईंले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दोश्रो पटक पाउनुभयो, तपाईंलाई नहटाएको भए अहिले पुनर्निर्माणको काम कहाँ पुग्थ्यो ? मैले यहाँ रहेर निरन्तर काम गर्ने मौका पाएको भए अहिलेसम्म पुनर्निर्माणको एउटा तहसम्म काम सम्पन्न हुन्थ्यो । केही केही जटिल खालका कामहरु स्वभाविक ढंगले केही समय बित्थ्यो नै । तर पनि थु्रपै कामहरु सम्पन्न हुन्थ्यो । मैले त्यतिखेर जुन कार्ययोजना पेश गरेको थिए सरकारलाई त्यो कार्ययोजना अनुसारको काम मैले सम्पन्न गरेको हुन्थे । त्यो अनुसार अघिल्लो दुई आर्थिक वर्षभित्रमा मुलभूत रुपमा निजी आवासको काम सम्पन्न गर्थे, स्वास्थ्य संस्था र शिक्षण संस्था निर्माणको काम ३ वर्षभित्र पुरा गर्ने लक्ष्य थियो त्यो लक्ष्य पुरा हुन्थ्यो होला । अब विगतलाई सम्झेर अल्झिनुभन्दा कार्ययोजना बनाएर अगाडि बढ्नु महत्वपूर्ण हुन्छ । त्यसको निम्ति कार्ययोजना बनाउने काम सुरु भैसकेको छ । हामी प्रत्येक पालिका तहमा, केन्द्रीय तहको पनि कार्ययोजना बनाउँदैछौँ । समग्ररुपमा बाँकी रहेका योजना समयबद्ध तालिकासहित हामी कामअघि बढाउँछौँ । मलाई लाग्छ अब हामी त्यतातिर केन्द्रित भयौ भने नै उपयुक्त हुन्छ ।
कोभिडबारे २० जिज्ञासा र जवाफ
- डा. रवीन्द्र पाण्डे १. कस्तो अवस्थामा पिसिआर गर्ने ? पिसिआर नगरे हुँदैन र ? - ज्वरो, खोकी, सास फेर्न गाह्रो, पखाला, बान्ता, थकान, छालामा बिमिरा आदिमध्ये
स्थानीय तहमा ‘वान रोड सिस्टम’ लागू भएन : राजनराज पन्त
स्थानीय तह निर्वाचन २०७४ मा गोरखा नगरपालिकाबाट निर्वाचित भएका थिए राजनराज पन्त । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका उनले निर्वाचनमा
जुम्लाकाे मार्सी भात खाँदा के को कोकोहोलो ? –योगेश भट्टराई
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा गोविन्द केसी १५ औँ पटक अनशनमा बसिरहेका छन् । अनशन बसेको आज

प्रतिकृया दिनुहोस